बालेनले बढाए राजनीतिक सक्रियता, रविसँग फाइनल वार्ता हुँदै


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग निर्णायक वार्तामा बसेका छन् । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगीको घरमा वार्ता जारी छ ।

बुधबार राति आफू निकटसँग लामो छलफल गर्दै बालेनले देश विकास पार्टी अघि बढाउने जानकारी गराएका थिए । त्यसपछि बालेनले बिहीबार बिहान मन्त्री घिसिङसँग भेटवार्ता गरेका हुन् । यसअघि पनि कुलमानले बालेनसँग भेट गरी मिलेर जाने सहमति भएको सार्वजनिक गरेका थिए ।

बिहीबार बिहानको वार्तामा घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवैजना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमति नजिक पुगेका छन् । अहिले कुलमान त्रिपुरेश्वरमा स्थापना भएको उज्यालो नेपाल पार्टीको कार्यालय उदघाटन गर्ने तयारीमा जुटेका छन् ।

यसअघि पनि रवि र बालेनबीच कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा पाँच घण्टा लामो छलफल भएको थियो । आजको भेटमा सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषयमा रवि र बालेनबीच एउटा निष्कर्ष निस्कने भएको छ । पुस १३ र १४ गते समानुपातिक सांसदको बन्दसूची बुझाउने समय निकट आएकाले बालेनले राजनीतिक सक्रियता बढाएका हुन् । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको सार्वजनिक भइसकेको छ ।