सेनापति बन्नबाट वञ्चित शर्मा परराष्ट्रमन्त्रीको शपथ लिँदै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । निर्वाचन आउने ६९ दिन बाँकी छँदा उनले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने भएकी छन् ।

शर्माको शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथग्रहण तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् ।

माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र नभएर कोभिड संकटको समयमा सीसीएमसीमा समेत उनले काम गरेका थिए।

शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघमा फोर्स कमाण्डर थिए । उनी कूटनीतिक क्षेत्रमा समेत विशेष दख्खल राख्ने पूर्वसैनिक अधिकृत मानिन्छन् । तीन महिनायता अन्तर्राष्ट्रिय समुदायसँग डिलिङ गर्ने परराष्ट्रमन्त्री नहुँदा देशको छवि बिग्रिँदै गएको छ । भदौको जेनजी आन्दोलनयता नेपाल भ्रमणमा कुनै पनि देशले आफ्नो प्रतिनिधि पठाउन चाहेका छैनन् । त्यही कारण चुनावको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री नियुक्त गरिन लागेको स्रोतले बतायो ।

शर्मा तीन महिनाअघि नै रक्षामन्त्री नियुक्त हुने चर्चा थियो । तर त्यसबेला उनको नाम काटिएको थियो । सेना प्रमुख बन्न नपाएका शर्मालाई रक्षामन्त्री स्वीकार गर्न नसकिने जंगी अड्डाको चेतावनीपछि प्रधानमन्त्री कार्कीले त्यसबेला मन्त्री नियुक्त नगरेको स्रोतको भनाइ छ ।