रवि पार्टी सभापति नै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।

रवि रास्वपा सभापति नै रहने र बालेन आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार हुने गरी दुवैबीच आइतबार बिहान ७ बजे सहमति भएको हो ।

सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको संगठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।

रवि र बालेनबीचको सहमति रास्वपाका नेता तथा पूर्वसांसद असिम शाह र आसिफ शाहको कार्यालय कमलपोखरीमा भएको हो । छलफलमा सहभागी रास्वपा र बालेनको तर्फका नेताहरूले शनिबार साँझदेखि आइतबार बिहान सवा ४ बजेसम्म निरन्तर छलफल गरी सहमतिको टुंगो लागेको हो ।

कमलपोखरीमा पूर्वसांसद असिम र उनका दाइ आसिफको चलचित्र निर्माण, गीतका भिडियोलगायतका कार्य गर्नका लागि लिइएको कार्यालय छ । रवि र बालेनले सोही कार्यालयलाई वार्तास्थल बनाएका थिए ।

बालेनका तर्फबाट भने कुमार बेन, भुपदेव शाह, सुदीप ढकाल, केपी खनाल, निश्चल बस्नेतलगायतको उपस्थिति थियो । रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवास रास्वपा सभापति लामिछाने र बालेनबीच गत सोमबार साँझ ७ बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म वार्ता चलेको थियो ।