दुई वर्षअघि नै सभामुख र उपसभामुखको कार्यकाल सकियो


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा रानाको कार्यकाल आइतबारदेखि सकिएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको पाँच वर्षे कार्यकाल हुन्छ । संविधानमा उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म अर्थात् आजसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकिएको छ । आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिन्छ । त्यसैले सभामुख घिमिरे र उपसभामुख राना आजदेखि पदमा बहाल हुने छैनन् ।

‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्,’ संविधानको धारा ९१ (६) (क) मा भनिएको छ । ‘ऐनको दफा २८(८०) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ ।

यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ । सभामुख घिमिरे एमाले र उपसभामुख राना रास्वपाबाट निर्वाचित भएका थिए । घिमिरे अघिल्लो निर्वाचनमा झापा–२ बाट प्रत्यक्ष निर्वाचित एमाले सांसद हुन् । राना भने समानुपातिक रास्वपा सांसद हुन् ।