सुन तस्करीका अभियुक्त भण्डारीलाई नेकपाले गर्‍याे उम्मेदवार सिफारिस


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नयाँलाई अवसर दिने नाममा सुन तस्करी प्रकरणका फरार अभियुक्तलाई सांसदको उम्मेदवार सिफारिस गरेको छ । नेकपाले भीमकान्त भण्डारीलाई गुल्मी–२ बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो । अख्तियारले भ्रष्टाचार मुद्दासमेत दायर गरेका र सुन तस्करीमा सीआइबीको फरार सूचीमा रहेका भण्डारीलाई नेकपाले गुल्मी २ बाट सिफारिस गरेको हो ।

विद्युतीय सिगरेट भेपमार्फत त्रिभुवन विमानस्थलबाट भएको ६० किलो किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा उनलाई सिआईबीले फरार सूचीमा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई सिआईबीले पक्राउ नगरेर भगाइएको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करी जाँचबुझ आयोगले बुझाएको प्रतिवदेनमा भण्डारीसहित सातजनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । भ्रष्टाचार र सुन तस्करीमा मुछिएका भण्डारीलाई नेकपाले गुल्मी २ बाट उम्मेदवार सिफारिस गरेपछि जिल्लस्तरीय नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । नेकपा गुल्मीले क्षेत्र नम्बर २ बाट भण्डारीसहित ६ जनालाई सिफारिस गरेको छ ।

जसमा भण्डारीसहित बुद्धिबहादुर जिसी, श्रीराम महत, भुपाल पोख्रेल, ज्योति थापा र प्रदीप भण्डारी छन् । क्षेत्र नम्बर १ बाट सुदर्शन बराल, सिर्जना तरामु केसी, गीता थापा, सुरेन्द्र कँडेल, विष्णु पन्त, रवि कडेल र किसन पाण्डे छन् । भण्डारी कुपण्डोलस्थित विद ल्याबका मालिकसमेत हुन् । उनको करोडौं रुपैयाँ अवैध आम्दानी भएको अनुसन्धानमा पुष्टि भएको छ ।