रास्वपाको समानुपातिक सूचीमा ‘सेलिब्रिटी’ हाबी


काठमाडौं । दलहरूले प्रतिनिधिसभाका २७५ सिटमध्ये समानुपातिकमा ४० प्रतिशत अर्थात् ११० जनाको बन्दसूची बुझाएका छन् । दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै निर्वाचनसम्बन्धी अन्योल हटेको छ र मुलुक २१ फागुनमा हुने निर्वाचनमा होमिएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार बन्दसूची बुझाउँदा समावेशी क्लस्टर मिलाएर बुझाउनुपर्छ ।

संविधानमा भएको व्यवस्थाअनुसार समानुपातिकतर्फ दलित १३.८५, आदिवासी जनजाति २८.७५, मधेशी १५.३५, थारू ६.६५, मुस्लिम ४.४५ र खसआर्य ३१.२५ निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको सूची बुझाएको हुनुपर्छ ।

तर नयाँ पुराना सबै दलका समानुपातिक उम्मेदवारको नाम हेर्दा लाग्छ यो प्रणालीको धज्जी उडाइएको प्रस्ट हुन्छ । कांग्रेसको बन्दसूचीमा समावेश केही नाम मात्र बाहिर आएका छन् । अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बेको नाम बाहिर आएको छ । केसी पटकपटक सांसद र मन्त्री भइसकेका नेता हुन् । एमालेका सबैजसो नाम बाहिर ल्याइएको छैन । रामबहादुर थापा बादल, पद्मा अर्याल, गुरु बराल, कोमल वली, शान्ता चौधरी जस्ता पटकपटक अवसर पाएकालाई एमालेले मौका दिएको छ ।

एमालेले पिछडिएको क्षेत्र र वर्गलाई समेट्न सकेको देखिन्न । एमालेले अधिकांश पुरानै अनुहारलाई मौका दिएको छ । नेपाली कम्युनिस्ट पार्टीले बन्दसूचीमा राखेका नाम हेर्दा सबै नयाँ देखिन्छ । केही अपवादलाई छाड्दा नेकपाको समानुपातिक बन्दसूची ठीकै देखिएको छ । उसले ग्रासरुट र संगठनमा काम गरेकालाई मौका दिएको देखिन्छ । सबैभन्दा भद्रगोल त रास्वपाको समानुपातिक बन्दसूचीमा देखिएको छ ।

उसले भाइरल भएका र सामाजिक सञ्जालमा चर्चित भएका सबैलाई समेट्न खोजेको देखिन्छ । रवि लामिछाने, बालेन्द्र साह बालेन र कुलमान घिसिङ एउटै पार्टीबाट चुनाव लड्ने भएपछि रास्वपाले समानुपातिक बन्दसूचीमा थुप्रै सेलिब्रेटीको नाम राखेको छ । गायिका, मोडलदेखि पूर्व मिस नेपालसम्मलाई उम्मेवारको सूचीमा समावेश गरेको छ । गायक प्रकाश सपुत, मोडल तथा पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ, आशिफ शाह, रिमा विश्वकर्मा सत्यकला राई, त्रिशला गुरुङ, पत्रकार प्रमोद न्यौपाने, प्रकाशचन्द्र परियार, मिलन लिम्बू, अभियन्ता मोहना अन्सारी, डा.अभिषेकराज सिंह, टासी लाजोम, विदुषी राणा, सचिन ढकाल, ज्ञानेन्द्र मल्ललगायत रास्वपाको बन्दसूचीमा छन् ।

समानुपातिक सञ्जाल नभएका, आफ्नो विचार पुर्याउन नसक्ने, मूलधारमा नअटाएकाहरुका लागि हो । जसको प्लेटफर्म छ, आवाज छ उसैलाई स्पिकर दिने व्यवस्था होइन । पुराना दलले यो प्रणाली पैसासँग साटेको आरोप लगाउने वैकल्पिकहरू त्यसलाई भाइरलिजमसँग साटेको टीकाटिप्पणी उठिरहेको छ । पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि रास्वपाको समानुपातिक सूचीमा छिन् । उनी आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छिन् । उज्यालो नेपाल पार्टीका नेता तथा प्राध्यापक डा. महेन्द्र लावतीले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो नाम राखिएको विषयमा असहमति जनाएका छन् । सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा लावतीको नाम छ ।