कुलमानले ससुरा र भान्जाको नाम समानुपातिक सूचीबाट हटाउन लगाउने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा राखिएका भान्जा र ससुराको नाम हटाउन लगाउने भएका छन् । सम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएका छन्।

आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा कुलमानले भान्जादेखि ससुरासम्म नाता पर्नेलाई समानुपातिक सूचीमा राख्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै फिर्ता लिने बचन दिएका हुन्। रास्वपाबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा कुलमानले नातामा भान्जा पर्ने राम लामा र ससुरा पर्ने धर्मलाल तामाङको नाम समावेश गराएका थिए। उनीहरू दुवै उज्यालो नेपालका सदस्यसमेत होइनन् ।

कुलमानले नाता पर्नेहरूको नाम फिर्ता लिन र सूचीमा तल परेका कतिपय नामलाई माथि तान्न रास्वपा सभापति रवि लामिछानेसँग कुरा गर्ने बताएका छन्। सोमबार रातिको सातबुँदे सहमतिअनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छ। त्यसपछि कुलमान रविपछि पहिलो वरीयताको उपसभापति बनेर रास्वपामा गएका छन्।

कुलमानले आफ्नै पार्टी सदस्यलाई समेत जानकारी नदिई नातावादलाई बढावा दिएको भन्दै केन्द्रीय समिति बैठकमा विरोध भएको हो। बैठकमा १६ जना केन्द्रीय सदस्यले बोलेका थिए। सबैले कुलमानको विरोध गर्दै समानुपातिक सूची सच्याउन दबाब दिए। सामाजिक सञ्जालमा चर्को विरोध भएपछि रास्वपाले समानुपातिक सूची सच्याउने भएको छ । त्यसका लागि सभापति रविले नेताहरूसँग छलफल थालेका छन् ।