काठमाडौं । ऊर्जामन्त्री एवं रास्वपाका प्रस्तावित उपसभापति कुलमान घिसिङले समानुपातिक सूचीमा आफ्नो भाञ्जा र ससुरा नराखिएको बताएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा राम लामा र धर्मलाल तामाङको नाम समावेश छ । लामा कुलमानको भाञ्जा र धर्मलाल ससुरा भएको भन्दै उनको आलोचना भइरहेको छ । चौतर्फी रूपमा आलोचित भएपछि कुलमानले बुधबार यसबारे प्रस्टीकरण दिएका हुन् ।
घिसिङले राम लामा अर्कै टिमबाट सूचीमा परेको र धर्मलाल आफ्नो ससुरा नभएको दाबी गरेका छन् ।
उनले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी पनि गरेका छन् ।
‘समाचार तथा चर्चामा भान्जा भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। समानुपातिक सूचीमा रहेका र मेरो ससुरा भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु,’ कुलमानले प्रस्टीकरण दिँदै भनेका छन् ।
मन्त्री घिसिङले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटि निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धतासमेत जनाएका छन् ।
‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु,’ उनले भनेका छन् ।














प्रतिक्रिया