रवि लामिछनेले भने, बालेन परिवर्तनको झिल्को भएकाले प्रधानमन्त्रीमा प्रस्तावित गरिएको हो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची सच्याउने बताएका छन् । बुधबार सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दाको तारिख बुझ्न पोखरा पुगेका लामिछानेले पत्रकार भेटघाटमा आफ्नो पार्टीको समानुपातिक सूचीलाई लिएर आएका गुनासो सुनिरहेको र सबै गुनासो सम्बोधन गर्ने बताए ।

‘जति पनि जायज गुनासाहरू आएका छन्, हामी सबै गुनासो सम्बोधन गर्छौं । हामीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन। समानुपातिक सूची सच्याउँछौं। हामीले केही व्यक्तिको नाम निकाल्ने तयारी गरेका छौं। ११० जनाको समानुपातिक सूचीबाट १० जना हटाउँदा कुनै फरक पर्दैन,’ उनले भने ।

लामिछानेले रास्वपा विधिभन्दा बाहिर नजाने दाबी पनि गरे । ‘परिवारवादमा रास्वपा स्पष्ट छ, हाम्रो विधानले नै त्यसलाई दिँदैन । कथंकदाचित पार्टीका विधि र मूल्य मान्यताभन्दा बाहिर जाने अवस्था आएमा विधानमै राइट टु रिकलको व्यवस्था रहेको छ,’ उनले भने । लामिछानेले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र कुलमान घिसिङसँगको सम्झौता भागबन्डा नभई जिम्मेवारी बाँडेको प्रस्टीकरण दिए ।

‘पार्टी कसले सञ्चालन गर्ने, पार्टीले बहुमत ल्याएपछि सरकार बनाउँदा प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने कुरा स्पष्ट बाँडफाँट गरेका हौँ । भागबन्डा होइन, जिम्मेवारी बाँडेका हौँ,’ उनले भने । उनले बालेन परिवर्तनको झिल्को भएकाले प्रधानमन्त्रीमा प्रस्तावित गरेको बताए ।

रविले आगामी निर्वाचनमा रास्वपाभन्दा बाहिरको व्यक्तिलाई भोट नमाग्ने जिकिर गरे । ‘रास्वपाले निर्वाचनमा आफ्नो चुनाव चिन्हभन्दा बाहिरको मान्छेलाई भोट माग्ने काम गर्दैन । रास्वपा हो, घन्टी हो त्योभन्दा अर्को पार्टी छैन । अरु कुनै उम्मेदवार छैन’, उनले भने ।