काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार बिहीबारदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रोअनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।
यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा.शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।
३६५ दिन ५ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको पन्तले बताए ।
पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।














प्रतिक्रिया