काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज यतिबेला निकै विवादमा तानिएको छ । लाखौं रुपैयाँ असुलेर विद्यार्थीलाई युरोपको सपना देखाउने र उनीहरूमाथि मानसिक र आर्थिक शोषण हुने क्रम बढेको छ । इन्टर्नका लागि दुबई पठाइएका विद्यार्थीहरूमाथि के कस्तो शोषण हुँदो रहेछ भन्ने हालैका केही घटनाले प्रमाणित गरेको छ ।
पढाउने र कमाउने प्रलोभन देखाएर कलेजले विद्यार्थीमाथि स्क्याम मच्चाइरहेको छ । दुबईमा गएर निकै दुःख र कष्ट भोगेका छात्रा आफ्नो पहिचान खुलाउन चाहँदैनन् । परिवारको इज्जतका कारण पनि उनीहरूले दुबईमा पाएका कष्ट बाहिर ल्याउन डराइरहेका छन् । कतिसम्म भने कलेजका बदमासी र दुबईमा पाएको मानसिक यातनाबारे जानकारी गराउने विद्यार्थीलाई ह्यारेसमेन्ट गरेको तथ्य सामाजिक सञ्जालमा भाइरल छ ।
आफ्नो आमाबाबुको मान प्रतिष्ठाका कारण खुलेर बोल्न नसकेको उनीहरूको भनाइ छ । केही दिनअघि कलेजले विद्यार्थीलार्ई इन्टर्नसिपका लागि भन्दै दुबई पठाएर अलपत्र पारेको आरोप लगाउँदै पीडित विद्यार्थीहरुले आन्दोलन गरेपछि कलेजभित्रको विवाद बाहिर आएको हो। विद्यार्थीहरुले कलेजको शैक्षिक कार्यक्रमको वैधता, विद्यार्थीसँग लिइने शुल्कलगायतको विषयमा समेत गम्भीर प्रश्न उठाएका छन्। केही दिनअघि यही विषयले कलेज तोडफोडसमेत भएको थियो ।
कलेजले नेपालबाट विद्यार्थीहरूसँग चर्को शुल्क असुलेर पछि बेलायत जान पाउने लोभ देखाउँदै दुबई पठाउने गरेको पाइएको छ । कतिसम्म भने कलेजले युरोपको सपना देखाएर प्रति विद्यार्थी ४० देखि ५० लाखसम्म असुल्ने गरेको तथ्य खुलेको छ । खासगरी होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू कलेजको ठगी धन्दामा परेका हुन्।
कलेजले वार्षिक लिने दुई लाखबाहेक दुबई इन्टर्नसिपका लागि प्रतिविद्यार्थी सात लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्। जबकि अन्य कलेजले दुई लाख कम खर्चमै कतार, दुबई, हङकङलगायतका देशमा इन्टर्नसिप गर्न पठाउने गरेका छन् । एक वर्ष इन्टर्न गरेपछि उनीहरू फर्किनुपर्ने हुन्छ ।
तर ब्रिटिस कलेजले दुबईमा नाम मात्रको अफिस खोलेर राख्ने अनि अन्यत्र काम गर्न पठाउने गरेको खुलेको छ । दुबई पुगेपछि श्रमिक परिचय पत्र बनाएर आफै काम खोज्न भनिएको विद्यार्थीहरूको आरोप छ। सोही कारण कयौँ विद्यार्थी अलपत्र परेका थिए। इन्टर्नसिप गर्न नपाएर नेपाल फर्किएका विद्यार्थीले कलेजको स्क्याम सार्वजनिक गरेका हुन् ।
यो विषय अहिले शिक्षा मन्त्रालय पुगेको छ । विद्यार्थीहरूले विदेशी विश्वविद्यालयको सम्बन्धन लिई नेपालमा सञ्चालित कलेजलाई नियमन गर्ने शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखा, शिक्षामन्त्री, विभिन्न राजनीतिक दलका शिक्षा विभागका सदस्य लगायत सरोकारवालाको ध्यानाकर्षण गराएसँगै मन्त्रालयले विवादका विषयमा चासो दिएर छानबिन सुरु गरेको छ














प्रतिक्रिया