समाचार संकलन गर्न ब्रिटिस कलेज जाँदा जे देख्यौं, जे भोग्यौं


सुस्मिता खतिवडा

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज यतिबेला गम्भीर विवादमा तानिएको छ। लाखौँ रुपैयाँ शुल्क असुलेर विद्यार्थीलाई विदेशको सपना देखाउने र त्यसकै आडमा उनीहरूमाथि मानसिक तथा आर्थिक शोषण हुने क्रम बढेपछि कलेज विवादमा तानिएको हो ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई इन्टर्नसिपका नाममा दुबई पठाउँदा उनीहरूले भोग्नुपरेको पीडाले कलेजको वास्तविक अनुहार सतहमा ल्याइदिएको छ। यही सत्य–तथ्य बुझ्न बिहीबार दिउँसो म र क्यामेरा पर्सन प्रदीप काफ्ले ब्रिटिस कलेज पुगेका थियौँ। कलेजभित्र प्रवेश गरेलगत्तै माहोल अस्वाभाविक देखियो। हामीलाई फोटो तथा भिडियो खिच्न कडाइका साथ रोक लगाइयो। क्यामेरा जाँचेर समाचारका लागि खिचिएको भिडियो जबर्जस्ती डिलिट गर्न बाध्य पारियो। जबकि त्यहाँ अन्य समाचारका फुटेजसमेत थिए ।

विद्यार्थीहरूको गुनासो, कलेजको कानुनी हैसियत र प्रशासनको आधिकारिक धारणा लिन खोज्दा हामीलाई चार घण्टासम्म कलेज परिसरमै रोकेर राखियो। ‘भिडियो डिलिट गरे मात्र छोडिन्छ’ भन्ने धम्की दिइयो। प्रहरी बोलाइयो । तर पनि हामीलाई छाडिएन।

कलेजको वास्तविकता बाहिर आउने भय कर्मचारी र प्रशासनमा रहेको देखियो । समाचार संकलन गर्न गएका पत्रकारलाई ब्रिटिस कलेजमै बन्धक बनाइएको खबर जब मिडिया र सामाजिक सञ्जालमा आउन थाल्यो, तब मात्र उनीहरू अलि नरम देखिए ।

यो घटनाले देशको संघीय राजधानी काठमाडौंमै पत्रकार कति असुरक्षित रहेछन् भन्ने यथार्थ देखाएको छ । पत्रकारको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि गम्भीर प्रश्न उठाएको छ। शिक्षाको नाममा व्यापार गर्ने केही निजी संस्थाहरू कति हदसम्म गैरजिम्मेवार, निरंकुश र कानुनभन्दा माथि आफूलाई ठान्छन् भन्ने यस घटनाले प्रस्ट पारेको छ ।

यो केवल एक कलेज वा केही पत्रकारको मात्र विषय होइन, हजारौँ विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र लोकतान्त्रिक समाजमा पत्रकारिताको भूमिकामाथि गरिएको प्रत्यक्ष आक्रमण हो। यसप्रति सरोकारवाला निकाय, शिक्षा मन्त्रालय, प्रहरी प्रशासन र मानवअधिकार संस्थाहरूको गम्भीर ध्यान जानु अपरिहार्य छ।

हुन त यो विषयलाई शिक्षामन्त्री महावीर पुनले गम्भीर ंढंगले लिएको कुरा बाहिर आएको छ । तर पनि पैसा कमाउने नाममा नेपाली विद्यार्थीको भविष्य बर्बाद पार्ने ब्रिटिस कलेजको मनपरी रोक्नै पर्छ । सरकारले बेलैमा विचार पुर्याओस् ।