काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ को चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार बिहान एक भिडिओ सन्देश जारी गर्दै उनले सरकार परिवर्तन र नियमित निर्वाचनले मात्रै मुलुकको विद्यमान जटिल समस्या समाधान नगर्ने भन्दै दलहरूबीच राष्ट्रिय सहमतिको प्रस्ताव गरेका हुन् ।
निर्वाचनले संविधानलाई गति दिने भए पनि प्रशासनिक र कार्यकारी निर्णयबाट मात्रै संरचनागत समस्या हल हुन नसक्ने भन्दै मथापाले भनेका छन्, ‘जेनजी मुभमेन्ट र भदौ २३–२४ का घटनाहरूले नागरिकमा व्याप्त चरम असन्तुष्टि, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशलाई प्रतिविम्बित गरेको छ । आन्दोलनको म्यान्डेट संस्थागत गर्न सबै सरोकार एक हुनुपर्छ ।’
थापाले निर्वाचन प्रणाली र संवैधानिक निकायका नियुक्तिमा पनि सुधारको खाँचो औँल्याएका छन् । संविधानमा निश्चित मापदण्ड नै तोक्नुपर्ने भन्दै उनले कानूनी छिद्रमा खेलेर गलत प्रयोग गर्दै आएको स्वीकारेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतजस्ता संवैधानिक निकाय पनि राजनीतिक भागबन्डाको सिकार भएको भन्दै संवैधानिक परिषदको संरचना र नियुक्ति प्रक्रियामा ‘पब्लिक हियरिङ’, रोष्टर प्रणालीजस्ता पारदर्शीता अपनाउनुपर्ने सुझाएका छन् । थापाले सुरुदेखि नै राज्यका अहिलेका संरचनाले कुनै काम नगर्ने भन्दै सुधारको आवश्यकता रहेको बताउँदै आएका छन् ।
थापा अहिले कांग्रेसमा विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । त्यसका लागि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशन नै मुख्य विकल्प रहेको प्रस्ट पारेका छन्।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ वक्तव्यमा भनिएको छ।














प्रतिक्रिया