काठमाडौं । जेनजी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई शुक्रबार साँझसम्म बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले सम्भवतः शुक्रबार साँझसम्म ओलीलाई बयानका लागि औपचारिक पत्र काट्ने तयारी गरेको हो ।
आयोगका पदाधिकारीहरूले यस विषयमा बिहीबार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । जेनजी आन्दोलनसँग जोडिएका अन्य उच्चपदस्थ अधिकारीहरूको बयान लिने काम लगभग सकिएको छ । अब ओलीको बयान मात्र बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेखनको प्रक्रिया सुरु हुने आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
चुनावी माहौल बन्दै गएको अवस्थामा ओलीलाई पत्र काटेर बोलाउँदा अवस्था खराब हुने हो कि भन्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । तर सदस्य शर्मालगायतले ओलीलाई जसरी पनि बयान दिन बोलाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री कार्कीले ओली निवासमा बयान लिन जान सकिने धारणा राखेकी थिइन् । तर स्रोतका अनुसार गुण्डुमै घर रहेका आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरू ओलीको निवासमा बयान लिन नजाने, कार्यालयमै बोलाउने अडान राखेको बताइन्छ ।
आयोगले आगामी माघ ९ गतेभित्रै सरकारलाई छानबिन प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम गरिरहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा तरंग ल्याएको थियो, जसमा राज्य पक्षबाट भएको दमनको विषयलाई लिएर यो उच्चस्तरीय आयोग गठन गरिएको हो ।














प्रतिक्रिया