काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रास्वपाले बुझाएको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या बढेको छ । पार्टी नेतृत्वले समानुपातिक मत बढाउन लोकप्रिय व्यक्तिलाई समावेश गरेपछि रास्वपाको चौतर्फी आलोचना भइरहेको छ । अहिलेसम्म ६ जनाले नाम फिर्ता लिएका छन् ।
शनिबार मात्रै तीनजनाले नाम फिर्ता लिएका छन् । जसमा आशिफ शाह, त्रिशला गुरुङ र सचिन ढकाल छन् । यसअघि नै महेन्द्र लावतीले आफू रास्वपाको बन्दसूचीमा नबस्ने बताइसकेका छन् । यस्तै पर्वतारोही टासी लाक्पा शेर्पाले पनि आफ्नो नाम बन्दसूचीबाट हटाउन आग्रह गरेका छन् ।
डा.रामजी रामले आफ्नो नाम हटाएर विजय जैरुको नाम राख्न प्रस्ताव गरेका छन् । सेलिब्रिटी, मिस नेपाल, भिडियो प्रस्तोता, डाक्टर, अधिकारकर्मी, पर्वतारोही, क्रिकेटर, उद्योगपति सबैको नाम रास्वपाले बन्दसूचीमा राखेको थियो । यसरी नाम राख्दा समानुपातिकतर्फ आफ्नो दललाई उल्लेख्य मत खस्ने उसले अपेक्षा गरेको छ ।
तर जेनजीदेखि पार्टीभित्रै आलोचित भएपछि नाम फिर्ता गर्नेको लहर बढेको छ । यस्तै, नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।
‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’ उनले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पनि उल्लेख गरेका छन् । गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारीबाट पछि हट्ने घोषणा गरेकी छिन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी उज्यालो नेपाल पार्टीको कोटाबाट बन्दसूचीमा समावेश थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको वक्तव्यमा गुरुङले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मानको विषय भएको उल्लेख गरेकी छिन् । तर, गहिरो आत्मसमीक्षापश्चात् राजनीतिक प्रतिस्पर्धामा नजाने निर्णय गरेको स्पष्ट पारेकी छिन् ।
यसैगरी, विदेशमा उच्च अध्ययनपछि उतै थुप्रै अवसरहरू उपलब्ध हुँदाहुँदै पनि स्वदेशमै उद्यम र रोजगारी सिर्जनामा योगदान गर्ने अठोटका साथ स्वदेश फर्किएका युवा व्यवसायी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताप्रति सम्मानस्वरूप व्यक्तिगत कारण देखाउँदै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेका हुन्।














प्रतिक्रिया