दिल्ली उड्नुअघि च्यासलमा ओली र प्रचण्डको गोप्य भेटवार्ता


काठमाडौं । भारतको नयाँ दिल्ली उड्नुअघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । आइतबार बिहान ललितपुरको च्यासलस्थित एमालेका एक प्रभावशाली नेताको घरमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । यसअघि सोही घरमा एमाले र नेकपाका दोस्रो तहका नेताबीच छलफल भएको थियो ।

उनीहरुबीच २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रचण्ड आजै साँझ भारतको नयाँ दिल्ली भ्रमणमा जाँदैछन् ।

दुवैबीच चुनावी सहकार्यबारे एक्लाएक्लै छलफल भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका विषयमा ओली र प्रचण्डबीच कुराकानी भएको बताइएको छ । नेपाली कांग्रेसमा महाधिवेशनको किचलोले उत्पन्न परिस्थितिको समीक्षा गर्दै ओली र प्रचण्डबीच सहकार्य गरेर जाने सहमति भएको स्रोतले बतायो ।