रास्वपा नेता अरनिको पाँडेले पनि फिर्ता लिए उम्मेदवारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा.अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत बन्दसूचीमा रहिरहने औचित्य नरहेको भन्दै उनले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय आइतबार राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताएका छन् ।

‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ उनले भनेका छन् । पाँडे केही समयअघि साइबर क्राइममा तानिएका थिए ।

तर पनि उनको नाम समानुपातिक सूचीमा राखिएकोमा विरोध भएको थियो । ‘म सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु । मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतर्फ ध्यान दिनेछु’, पाँडेले भनेका छन् ।

पाँडेसँगै रास्वपाले बुझाएको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या छ पुगेको छ । यसअघि गायिका त्रिशाला गुरुङ, अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, पर्वतारोही टासी शेर्पा र अभियन्ता डा. महेन्द्र लावतीले पनि नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।