काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सोमबार सर्पोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनी रिहा भएका थिए । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफीविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् ।
उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो । सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि भने अहिलेसम्म सुनुवाइको पालो नै आएको छैन ।
कारण देखाऊ आदेशपछि यो मुद्दामा दुई वर्षसम्म सुनुवाइ हुन सकेको छैन । त्यसपछि दुईपटक इजलासमा पुगेको यो मुद्दाको सुनुवाइ २०८० पुस १६ गते एकपटक स्थगित भएको थियो । त्यसको एक वर्षपछि २०८१ माघ २७ गते यो मुद्दाको सुनुवाइका लागि पेसी तोकेर पनि बेन्च बस्न सकेन ।
यो मुद्दाको पेसी मंसिर २५ गतेका लागि तोकिएको थियो । यो मुद्दामा हालसम्म १३ वटा पेसी तोकिएकोमा २०८१ असार ६ गते साप्ताहिक पेसी सूचीबाट हटाइएको थियो । यदि सर्वोच्चले चौधरीले जन्मकैदको सजाय पूरा गर्नुपर्ने आदेश सुनाएमा उनी फेरि कारागार फर्किनुपर्ने हुन्छ ।














प्रतिक्रिया