काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौंका मेयर बालेन्द्र साह बालेनलाई बयान दिन जाँचबुझ आयोगले पत्र पठाएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले बालेनलाई बयानमा बोलाएको उनका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।
जेनजी आन्दोलनका पहिलो दिन काठमाडौं महानगरपालिकाले पानी वितरण गरेको थियो । जसमा काठमाडौं महानगरको प्रहरी बल र हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङलगायत सहभागी थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतसँग बयान लिइसकेको आयोगले पत्र पठाएर बालेनलाई पनि बोलाएको हो ।
भदौ २४ गते तत्कालीन प्रधानमन्त्री ओलीलगायतले राजीनामा दिइसकेको भन्दै बालेनले जेनजीलाई आन्दोलनबाट फर्किन आह्वान गरेका थिए । उनले नयाँ सरकार गठन गर्ने सन्दर्भमा जेनजीहरुलाई सेनासँग वार्ता गर्न र प्रतिनिधिसभा विघटनलाई सर्त राख्न आग्रह गरेका थिए ।
वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्नमा उनकै हात रहेको बताइन्छ । यी सबै घटनामा बालेन प्रत्यक्ष नदेखिए पनि अपत्यक्ष रुपमा उनको संलग्नता रहेको भन्दै आयोगले उनलाई बयानमा बोलाएको हो । बालेन आइतबारदेखि मात्रै रास्वपाको वरिष्ठ नेता भएका छन् । उनले सोमबार राष्ट्रिय सभा गृहमा रवि लामिछानेसँगै भाषण गर्ने भएका छन् ।














प्रतिक्रिया