काठमाडौं । साम्प्रदायिक सदभाव भड्किएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म कुनै भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाइने भएको छ।
वीरगन्जको पूर्वमा बस पार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकाराचार्य गेट सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
सोमबार बिहानैदेखिको प्रदर्शनका कारण वीरगन्ज बजार तनावग्रस्त छ । बजार खुल्ने र बन्द हुने क्रम जारी छ । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी रहेको बताएका छन् ।
गृह मन्त्रालयमा सोमबार नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् । टिकटकमा धनुषाका दुई युवकले हिन्दु धर्मविरोधी भिडियो राखेको भन्दै प्रदर्शन सुरु भएको हो । अहिले मधेशका आठै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।














प्रतिक्रिया