प्रचण्ड उडेको भोलिपल्टै आरजु राणा नयाँ दिल्ली प्रस्थान


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली उडेको भोलिपल्टै कांग्रेस नेतृ आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । नेपाल एयरलायन्सको विमानबाट पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी राणा सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। कांग्रेस नेतृ राणा स्वास्थ्य उपचारको फलोअपका लागि नयाँ दिल्ली गएको बताइन्छ ।

यसअघि पनि उनले आफ्नो रोगको नियमित फलोअप भारतमा गराउँदै आएकी थिइन् । त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल पनि सोमबार दिल्ली प्रस्थान गरेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपालका उच्च तहका नेताहरू दिल्ली जानुलाई अर्थपूर्ण रूपले हेरिएको छ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यतालिका छ। प्रचण्ड हाल दिल्लीमै छन् । उनी पार्टीको प्रवास कमिटीको कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका हुन् । प्रचण्डले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको स्रोतले बतायो ।