कांग्रेस बैठकमा महाधिवेशनभन्दा राष्ट्रिय चुनावको जोठघटाउमा ध्यान


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ । सोमबार दिउँसोदेखि सुरु भएको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल भइरहेको छ । साथै, विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले माघ ११ गते हुने निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्यबारे छलफल भइरहेको तर सिट भागबन्डाको कुरा नमिलेको ब्रिफिङ गरेका छन् । तर महाधिवेशनको किचलोबारे कुनै छलफल नै हुन सकेको छैन ।

बैठकमा सहभागी नेताहरूका अनुसार खड्काले कांग्रेसले राष्ट्रिय सभामा आठ सिटको अडान राखेको बताएका थिए । आगामी फागुन २० देखि राष्ट्रिय सभाको १९ पद रिक्त हुँदैछ । एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र १८ जनाका लागि मतदान हुनेछ ।

राष्ट्रिय सभामा एमाले आठ, तत्कालीन माओवादीका सात, जसपा नेपाल एक, लोसपा एक र तत्कालीन एकीकृत समाजवादीका एक गरी १८ सांसदको पद रिक्त हुँदैछ । कांग्रेसले प्रत्येक प्रदेशबाट एक–एकजना हुने गरी भागबन्डा टुंगो लगाउने बताउँदै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । देउवा निवास महाराजगन्जमा भएको छलफलमा यादवदे मधेश प्रदेशबाट आफ्नो पार्टीलाई दुई सिट दिइनुपर्ने माग गरेका छन् ।