भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध अखिल (क्रान्तिकारी) को मसाल जुलुस


काठमाडौं । भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेपको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस, ताहाचल समितिले मसाल जुलुस आयोजना गरेको छ।

जुलुसलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको कडा भर्त्सना गरे। उनले भने, “आज हामी केवल भेनेजुएलाको विषयमा मात्र आवाज उठाइरहेका छैनौँ, यो विश्व साम्राज्यवादको नाङ्गो अनुहारविरुद्धको संघर्ष हो।”

श्रेष्ठले इतिहास साक्षी रहेको उल्लेख गर्दै जहाँ–जहाँ अमेरिका पुगेको छ, त्यहाँ शान्ति नभई रगत बगेको, लोकतन्त्रको सट्टा कठपुतली सरकार स्थापना गरिएको र विकासको नाममा लुट तथा विनाश निम्तिएको आरोप लगाए।

उनले भेनेजुएलाको ‘अपराध’ आफ्ना प्राकृतिक स्रोतहरूमाथि स्वामित्व कायम गर्न खोज्नु, साम्राज्यवादी आदेश अस्वीकार गर्नु र जनताको पक्षमा उभिनु रहेको बताए। “यदि यही अपराध हो भने, हामी त्यो अपराधको पक्षमा छौँ,” उनले स्पष्ट पारे।

कार्यक्रममा अखिल (क्रान्तिकारी) ले भेनेजुएलाका जनता तथा त्यहाँको राष्ट्रिय स्वाधीनताप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै अमेरिकी हस्तक्षेपको घोर भर्त्सना गरेको छ। साथै, विश्वका उत्पीडित जनता अब मौन बस्ने अवस्थामा नरहेको सशक्त सन्देशसमेत दिइएको थियो।

मसाल जुलुसमा सहभागी विद्यार्थी तथा युवाहरूले “साम्राज्यवाद मुर्दाबाद”, “भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर”, “अमेरिकी हस्तक्षेप बन्द गर” लगायतका नाराहरू लगाएका थिए।