जग्गा लिलामी गरेपछि एनआइसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाह प्रयास


काठमाडौं । सुनसरीको इटहरीस्थित एनआइसी एसिया बैंकका एक ऋणीले बैंकभित्रै आत्मदाह प्रयास गरेका छन्। इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआईसीको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किन खोजेका हुन् । उनी बोतलमा पेट्रोल बोकेर बैंक गएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले बैंकबाट एक करोड ऋण लिएको र पाँच सात महिनादेखि ब्याज नतिरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताए। उनले ब्याज नतिरेको कारण बैंकमा बोलाइएको थियो। बैंकमा जाने क्रममा उनले साथमा पेट्रोल लिएर गएको खड्काले बताए। पौडेलले आफ्नो शरीरमा पेट्रोल छर्किन खोजेपछि त्यहाँ भएका एक व्यक्तिले रोकेको भिडियोमा देख्न सकिन्छ ।

शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यले जोगाएका थिए । त्यसपछि उनले बैंकले आफ्नो उठिबास लगाएको भन्दै ‘अब बाँच्नुको कुनै अर्थ छैन’ भन्दै रुवाबासी गरेका थिए । तत्कालै उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा लगेर सोधपुछ गरिएको थियो । प्रहरीले बैंकका कर्मचारीलाई पनि सोधपुछका लागि बोलाइएको छ।

घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पौडेलले इटहरीमा रहेको जग्गा व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको बुझिएको छ । झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि भनेर साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे दुई करोड रुपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज पनि नदिएको र किस्ता पनि नतिरेको पौडेलले बताएका छन् । जग्गा लिलामी प्रक्रियामा गएपछि आफूलाई तनाव भएको भन्दै आत्मदाहको प्रयास गरेको उनले बताए । बैंक पटक पटक फोन गरेर आफूलाई दुःख दिएको उनको भनाइ छ ।