प्रधानमन्त्री कार्कीले रास्वपा निकट मन्त्रीहरूको मागिन् राजीनामा


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले रास्वपा निकट मन्त्रीहरूको राजीनामा मागेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्यांकन गरी आफैं निर्णय गर्नुपर्ने बताएकी थिइन् । प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको बुझिएको छ ।

ऊर्जामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुदमन्त्री छन्। सञ्चारमन्त्री जगदीश खरेल पनि ललितपुर–२ बाट रास्वपाको उम्मेदवार बन्ने तयारीमा छन् । उनले चुनावी गतिविधि सुरु गरिसकेका छन् । कार्की नेतृत्वको सरकार गैरदलीय सरकार हो।

यस्तो अवस्थामा रास्वपासँग आबद्ध भइसकेका घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज जनस्तरमै उठ्न थालेको छ। गुप्ता बालेन निकट जेनजी अभियन्ता हुन् । बालेन अहिले रास्वपाको वरिष्ठ नेता बनेका छन् । ऊर्जामन्त्री घिसिङले भने माघ ५ गते मात्रै पदबाट राजीनामा दिने बताइन्छ । यसबीचमा उनले चुनावी अभियान पनि थालिसकेका छन् ।