केन्द्रीय समिति बैठकले आह्वान गरे शेखर कोइराला विशेष महाधिवेशनमा जान तयार


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । ्मंगलबार विशालनगरस्थित आफ्नो सचिवालयमा उनले कांग्रेस संस्थापन पक्षका ३० केन्द्रीय सदस्यहरूसँगको छलफलमा यस्तो धारणा अघि सारेका हुन् ।

‘अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिक उम्मेद्वार टुंग्याउनुपर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ । त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ,’ उनले भने ।

कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए । उनले कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउला, तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालीन हानी हुने उनको भनाइ थियो ।आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट रहेको उनले बताए ।

केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरुसँग भेट गरेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको, तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन् ।

उनले मध्यमार्गी बाटो पहिल्याउन कोइरालालाई आग्रहसमेत गरेका छन् । अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको बताए । उनले दुबैपक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा। शेखर कोइरालालाई सामूहिक आग्रह गरिन् । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत थिए ।