काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।
एमालेले ६ जना उम्मेदवार उठाउने निर्णयसहित नाम टुंगो लगाएको छ । राष्ट्रिय सभामा एमालेले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पनि पठाउने निर्णय गरेको छ । महाधिवेशनको केही समय अघि मात्रै एकीकृत समाजवादी छाडेर एमालेमा समाहित भएकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा पठाउन लागेको हो ।
झापाकी रोशनी मेचे, किसान महासंघका अध्यक्ष डा.प्रेम दंगाल, सम्झना देवकोटा, लीला भण्डारी र मीना रखाललाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।














प्रतिक्रिया