काठमाडौं । कांग्रेस नेतृत्वले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन् । केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले सम्भवतः आजै केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्ने भएका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटकपटक छलफल भए पनि कुनै निकास ननिस्किएकाले विशेष महाधिवेशन आह्वान गर्ने थापा र शर्माले बताएका छन् ।
महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताएका थिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापा र शर्माले विशेष महाधिवेशनको घोषणा गर्न सक्ने केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले बताए । उनका अनुसार पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागिएको हो ।
कार्यसम्पादन समितिले भने आगामी बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरी विशेष महाधिवेशनको औचित्य नरहेको सर्कुलर वडा कमिटीसम्म गरेको छ । संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा लाग्दा महामन्त्रीद्वयको यो कदमले पार्टीको विवाद नयाँ चरणमा प्रवेश गर्ने देखिएको छ ।














प्रतिक्रिया