चुनाव हारेका विष्णु रिमाललाई ओलीले दिए तीनवटा संगठनको जिम्मेवारी


काठमाडौं । हालै सम्पन्न एमालेको एघारौं महाधिवेशनमा उपमहासचिवमा पराजित विष्णु रिमालले तीनवटा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष बनाएको छ । अध्यक्ष केपी ओलीले आफ्ना विश्वासपात्र रिमाललाई यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व सम्हाल्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिएका हुन् ।

रिमाललाई पार्टीको घोषणापत्र मस्यौदा समितिमा पनि राखिएको छ । पार्टी अध्यक्ष ओली नेतृत्वको समितिले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि घोषणापत्र तयार पार्नेछ । त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन परिचालन समितिमा पनि रिमाल समेटिएका छन् । उनलाई सचिवको जिम्मेवारी दिइएको छ । ओलीका विश्वासपात्र मानिने रिमालले चुनाव हारे पनि महत्वपूर्ण जिम्मेवारी पाएपछि एमालेमा अझ असन्तुष्टि बढेको छ ।

आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । राजधानी प्रदेशमा डा. राजन भट्टराई र संगठन विभाग प्रमुखमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ ।