माधव नेपालले सम्धी पाण्डेलाई दिए राष्ट्रिय सभाको टिकट


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सम्धी सोमनाथ पाण्डेलाई राष्ट्रिय सभाको टिकट दिएका छन् । पाल्पाका पाण्डेलाई नेकपाले लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाएको हो । विगतमा एमालेबाट प्रतिनिधिसभा निर्वाचित हुँदै आएका पाण्डे माधव नेपालले पार्टी फुटाएर एकीकृत समाजवादी बनाएपछि गत निर्वाचनमा पाल्पाबाट पराजित बनेका थिए । उनलाई एमालेका ठाकुर गैरेले हराएका थिए ।

त्यसयता निष्क्रिय जस्तै बनेका पाण्डेलाई माथिल्लो सदनमा लैजान उम्मेदवार बनाइएको हो । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा तीन दलीय गठबन्धनले उम्मेदवारको टुंगो लगाएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली कांग्रेसले दाङका वासुदेव जंगली र एमालेले गुल्मीकी रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । झाँक्री केही समयअघि मात्र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेकी हुन् ।

गुल्मी–२ बाट गोकर्ण विष्टले प्रत्यक्षमा टिकट पाउने भएपछि एमालेले झाँक्रीलाई राष्ट्रिय सभामा व्यवस्थापन गरेको हो । कांग्रेसले जंगलीलाई अपांगता कोटाबाट उम्मेदवार बनाउन लागेको हो । उम्मेदवारहरूले मंगलबार दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनेछन् ।

लुम्बिनीमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८७५३ मतभार छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।