पुस २७ र २८ गते बोलाइयो कांग्रेस विशेष महाधिवेशन, के गर्लान् देउवा ?


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान गरिएको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरेको छ ।

पत्रकार सम्मेलनमा उपसमितिका संयोजक सुवास पोखरेलले विशेष महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको जानकारी दिए । उनले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिने पुनः पुष्टि गरे । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालनलगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।

पार्टी विधानको धारा १७ (२) मा उल्लेख ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने व्यवस्थाका आधारमा महाधिवेशन बोलाइएको स्पष्ट पारिएको छ ।

पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै नगरेको र विधानबमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई ‘असान्दर्भिक वा औचित्यहिन’ भन्ने अधिकार विधानले कसैलाई प्रदान नगरेको विज्ञप्तिमा जनाइएको छ । ‘अतः विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।

यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं। पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको छ र यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्दछन् । अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

विशेष महाधिवेशन बोलाउने मागलाई लिएर संस्थापन पक्ष र महामन्त्रीहरूबीचको द्वन्द्व उत्कर्षमा पुगेको बेला महामन्त्री गगन थापाले बुद्धिजीवी र पार्टी शुभेच्छुकसँग छलफल जारी राखेका छन्। नक्सालस्थित एक होटलमा डाकिएको छलफलमा केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसेलगायत उपस्थित छन्। आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने कार्यक्रम छ। विशेष महाधिवेशन आह्वान भएपछि अब सभापति शेरबहादुर देउवा के गर्लान् भन्ने चासो उत्पन्न भएको छ ।