काठमाडौं । डा. रामजी रामले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नाम फिर्ता लिएको घोषणा गरेका हुन् । ‘दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा मेरो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय थियो ।
यो केवल मेरो नाम मात्र होइन, पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व थियो । त्यसैले यो अवसरप्रति म सधैँ आभारी रहनेछु,’ उनले भनेका छन् । रामले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्दसूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् ।
‘तर, राजनीति केवल अवसर प्राप्त गर्ने खेल होइन, यो त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी पनि हो । आज म यो निष्कर्षमा पुगेको छु कि( मेरोभन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर, संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन्,’ उनले भनेका छन् ।
यसअघि गायिका त्रिशला गुरुङ, अरनिकोकुमार पाँडे, मिलन लिम्बू, सरिता सिज्जु, आरोही टासी शेर्पा, टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ साह, प्राध्यापक महेन्द्र लावती र व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकालले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए ।














प्रतिक्रिया