काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ मा काठमाडौंमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । बुधबार साँझ विज्ञप्ति जारी गर्दै थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउन अपिल गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले व्यक्तिले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन अपिल जारी गरेको केही मिनेटमै महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेपछि कांग्रेस विवाद उत्कर्षमा पुगेको छ । कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी हुने पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, महाधिवेशन प्रतिनिधिलाई कारबाहीको चेतावनी दिएलगत्तै महामन्त्रीद्वय थापा र शर्माले त्यसलाई चुनौती दिँदै विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
कांग्रेस विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित निवेदन दिँदा पनि केन्द्रीय कार्यसमितिले त्यसलाई बेवास्ता गर्दै निर्णय गर्न नचाहेपछि यस्तो निर्णय लिनुपरेको थापा र शर्माले जिकिर गरेका छन् ।
‘विधानबमोजिम वाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको समेत विपरित हो । विधान र कानूनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो। एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो। हामीले त्यो जिम्मेवारी पुरा गर्नुपर्छ, गर्नेछौं,’ महामन्त्रीद्वयले विज्ञप्तिमा भनेका छन्, ‘अतः विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौं ।’














प्रतिक्रिया