रवि भेट्न पुगे राजेन्द्र लिङ्देन


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । रविलाई भेट्न लिङ्देन बिहीबार बिहान उनकै निवासमा पुगेका थिए । भेटवार्ता सुरु भएलगत्तै रविले फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भनेर जिज्ञासा राखेका थिए ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सरकारको तयारी र प्रमुख दलका शीर्ष नेताहरूको व्यवहारका कारण घोषित मितिमा चुनाव नहुने हो कि भन्ने आशंका रविले लिङ्देनसमक्ष गरेका थिए । पुस २७ गते पृथ्वी जयन्तीका दिन राप्रपाले आयोजना गर्न लागेका चियापानमा सहभागी भइदिन निम्तो दिन लिङ्देन रवि निवास पुगेका हुन् ।

दुवैबीच अन्य विषयमा पनि कुराकानी भएको श्रेष्ठले बताए । रवि भैरहवा कारागार र नक्खु कारागारमा रहँदा पनि लिङ्देन भेट्न पुगेका थिए । लिङ्देनले रविमाथि राज्यले प्रतिशोध साँधेको बताउने गरेका थिए । रवि धरौटीमा कारागार मुक्त भएपछि दुवैबीच पहिलोपटक भेटवार्ता भएको हो ।