विश्वप्रकाश शर्माले भने– विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका छन् । शर्माले सामाजिक सञ्जालमार्फत काठमाडौंको भृकुटीमण्डपमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताएका हुन् । ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन ।

यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु,’ उनले भनेका छन् । पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान भइसकेको छ । त्यसमा शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछिको परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएका छन् । विशेष महाधिवेशन माग्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान चलाएका थिए ।

सो अभियानमा ४० प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेकाले विधान अनुसार विशेष महाधिवेशन गर्नैपर्ने तर्क शर्माको छ । तर कांग्रेसले भने विशेष महाधिवेशन व्यक्तिले बोलाउन नमिल्ने भन्दै सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएको छ । ललितपुर, कास्कीलगायतका कांग्रेस जिल्ला कार्यसमितिले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् ।