काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । सहकारी ठगीसम्बन्धी तारिख बुझ्न उनी बिहीबार चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । अदालतमा केही समय बसेर बाहिरिएका रविले आज आसन्न निर्वाचनको तयारीबारे जिल्लाका मतदातासँग परामर्श गर्ने भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर नक्खु कारागारबाट मुक्त भएका रवि त्यसयता विभिन्न जिल्लामा तारिख बुझ्न अदालत उपस्थित हुने गरेका छन् । केही दिनअघि उनी पोखरा पुगेका थिए । सूर्योदय सहकारी ठगीका विषयमा कास्की जिल्ला अदालतमा उपस्थित भएर उनले तारिख बुझेका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा भने उच्च अदालत पाटनले धरौटी रकम स्वीकार गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको थियो । उनीविरुद्ध पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगीको मुद्दा परेको छ । उनीविरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा रवि फेरि पनि चितवन–२ बाट चुनाव लड्ने तयारीमा छन् ।














प्रतिक्रिया