ऋणीलाई मर्नु न बाँच्नु बनाउने एनआईसी एसिया बैंकको अर्को कर्तुत


काठमाडौं । ऋणीलाई महँगो ब्याज थोपरेर र क्रेडिट कार्डमार्फत किस्ता तिर्ने भन्दै ब्याज असुलेर बदनाम एनआइसी एसिया बैंकले इटहरी घटनालाई ढाकछोपको प्रयास गरेको छ । केही दिनअघि इटहरी शाखामा ऋणी लालबहादुर पौडेलले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । आफ्नो धितो लिलाम गरेर उठिबास लगाउन खोजेको भन्दै पौडेल आत्मदाहको मनस्थितिमा पुगेका थिए । तर केही कर्मचारीले छेकेपछि उनको प्रयास रोकिएको थियो ।

बैंकले तत्कालै पौडेललाई प्रहरीको जिम्मा लगाएको थियो । ऋणीलाई आत्महत्या गर्न विवश बनाउन खोजेको भन्दै चौतर्फी आलोचना भएपछि बैंकले अहिले उल्टै पौडेलले कर्मचारीमाथि हातपातको प्रयास गरेको भन्दै सूचना निकालेको छ । उसले कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैंकमा गरिने कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने बैंकले जनाएको छ । यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको बैंकको भनाइ छ । जबकि पौडेलले बैंकमा कुनै कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिएनन् ।

उनले बैंककै कारण आफू मर्ने अवस्थामा पुगेको भन्दै रोइरहेको भिडियोमा देखिन्छ । तर बैंकले बिहीबार निकालेको सूचनामा कर्मचारीमाथि गालीगलौज गर्ने, हूलहुज्जत गर्ने, सेवा प्रवाहमा रोक लगाउने जस्ता शब्द राखेर ऋणीमाथि अर्को अपराध गरेको छ । घटनाको भिडियो खिच्न केही क्यामराम्यानसमेत बैंक परिसरमा पुगेको देखिएको भन्दै बैंक पक्षले यसलाई योजनाबद्ध बदनाम अभियानको रूपमा व्याख्या गरेको छ ।

आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा एनआईसी सिया बैंकले लिलाम गरेपछि पौडेल अहिले बेचैन भएका छन् । पौडेलले आफू अत्यन्तै तनावमा पुगेपछि यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएका थिए ।

झापामा मदिरा फ्याक्ट्री सञ्चालन गर्ने उद्देश्यले साहले पौडेलसँग ब्याज दिने सहमतिमा जग्गा धितो मागेको र त्यसैका आधारमा साढे दुई करोड रुपैयाँ बराबरको ऋण निकालिएको थियो । तर, साहले न त ब्याज नै दिए, न त बैंकमा किस्ता बुझाए । लामो समयसम्म किस्ता नआएपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम प्रक्रिया अघि बढाएको हो । जसकारण पौडेलको उठिबास लागेको छ ।