काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वानपछि तिक्तता उत्कर्षमा पुगेको छ । विशेष महाधिवेशन पक्षलाई काउन्टर दिन सभापति शेरबहादुर देउवा पक्षले पुस २७ मा युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।
देउवा निवास महाराजगञ्जमा भएको छलफलपछि गगन र विश्वलाई काउन्टर दिन सोही मितिमा युवा र जिल्ला भेला गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले जानकारी दिए । उनका अनुसार युवा भेलाको संयोजन तरुणका अध्यक्ष विद्वान गुरुङले गर्ने छन् । जिल्ला सभापतिको नेतृत्व भक्तपुर सभापति दुर्लभ थापाले गर्ने छन् ।
पार्टीले आगामी वैशाख २८–३१ का लागि १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ मा विशेष महाधिवेशन भेला बोलाएका हुन् । उनीहरुले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपसमेत बुक गरिसहेका छन् । देउवा पक्ष यसपटक भिड्ने मुडमा देखिएको छ ।
खासगरी देउवा निकट केही युवादेखि वृद्ध नेताहरू विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । उनीहरू बरु एमालेसँग मिलेर चुनावमा जाने र बहुमतको सरकार बनाउने आशमा छन् । तर गगन–विश्वप्रकाश भने जेनजी आन्दोलनपछि दलहरूको राजनीतिमा ब्रेक लागेकाले नसच्चिइ जान नसकिने भन्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने पक्षमा देखिएका छन् ।














प्रतिक्रिया