चार महिनामै देखियो जेनजी सरकारको अनुहार, कोही मन्त्री विदेश भ्रमणको मरिहत्ते गर्ने, कोही जानै नचाहने


काठमाडौं । चार महिनामै जेनजी सरकारको असली अनुहार देखिएको छ । कांग्रेस र एमालेको बलियो सरकारलाई भदौ २३ र २४ को दुई दिने आन्दोलनले विस्थापित गरेर सुशीला कार्की नेतृत्वमा गैरदलीय सरकार बनेको थियो । तर चार महिनामै यो सरकारले आफ्नो अनुहार देखाएको छ । गैरदलीय भनिए पनि तीनजना मन्त्रीले दलीय आबद्धता देखाएका छन् ।

रास्वपाको उपसभापतिमा प्रस्तावित कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएर बाहिरिसकेका छन् । रास्ववाको उपसभापति प्रस्तावित भए पनि आफू कुनै पार्टीमा आबद्ध नभएको भन्दै उनले अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलमाथि दलीय राजनीतिमा सहभागी भएको आरोप लागेको छ । तर खरेलले आफू कुनै दलको सदस्य नभएको भन्दै आएका छन् । रास्वपाका नेताहरुका अनुसार खरेल आगामी निर्वाचनमा ललितपुर–२ बाट उनी उम्मेदवार बन्दै छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको सिफारिसमा युवा तथा खेलकुदमन्त्री बनेका गुप्ता अहिले निकै चर्चामा छन् । रास्वपाका नेता गुप्तालाई पदबाट राजीनामा दिन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी थिइन् । तर उनले आफू अमेरिका भ्रमण गरेर फर्केपछि मात्रै राजीनामा दिने भन्दै उनले अड्डी कसेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले जेनजी आन्दोलनपछिको विषयमा आयोजना गर्न आफूलाई बोलाएको र अमेरिकाबाट फर्केपछि आफूले राजीनामा दिने उनको भनाइ थियो । तर अहिले आयोजक भनिएको एनआरएनए अमेरिकाले मन्त्री गुप्तालाई नबोलाएको दाबी गरेपछि मन्त्री गुप्ता विवादमा तानिएका छन् ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन्, ‘साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

शिक्षामन्त्री महाविर पुनले भने आफूलाई पाँचवटा देशको भ्रमणको निम्तो आए पनि नजाने जानकारी गराएका छन् । मन्त्री भएपछि पहिले तीनवटा देशको भ्रमण आए पनि नगाएको र अहिले दुईवटा देशबाट आए पनि आफू नजाने उनले जानकारी दिएका छन् । पछिल्लोपटक इजरायल र साउदी अरबबाट भ्रमणको निम्तो आएको उनले खुलाएका छन् । देशको अर्थतन्त्र नसुधारेसम्म जुनसुकै प्रधानमन्त्री र मन्त्री आए पनि केही प्रगति नहुने भन्दै उनले विदेश घुमेर अर्थतन्त्र बन्छ ? भन्दै प्रश्न गरेका छन् ।

‘म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुईवटा निमन्त्रणा आएछ । यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’ उनले भनेका छन् ।

उनले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रीस्तरीय बैठक र साउदी अरेबियामा आगामी मे ३ देखि ४ तारिखसम्म हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि आफूलाई प्राप्त निमन्त्रणा पत्र पनि सार्वजनिक गरेका छन् ।

यस्तै, स्वास्थ्यमन्त्री सुधा शर्मा गौतम निकै विवादमा तानिएकी छन् । खासगरी स्वास्थ्य संस्थामा विभिन्न उपकरण खरिद प्रकरणमा उनको नाम मुछिएको छ । कानुनमन्त्री अनिलकुमार सिन्हाले अहिले चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तर उनीमाथि बन्द भएको जनकपुर चुरोट काराखाना खोल्न करोडौंको डिल भएको आरोप लागेको छ । चुरोट कारखाना खोल्न केही जेनजीले दबाब दिइरहेका छन् । मन्त्री सिन्हाले हरियो बत्ती दिए पनि स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएपछि रोकिएको छ ।

प्रधानमन्त्री कार्की आफैं पनि जुन उद्देश्यका लागि उनी प्रधानमन्त्री नियुक्त भएकी हुन्, त्यो काममा उनी असफल भएको आरोप लागेको छ ।