पूर्वन्यायाधीश ईश्वर खतिवडा उभिए कांग्रेस विशेष महाधिवेशनको पक्षमा


काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडा पनि कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । उनले आफू कुनै दलसँग आबद्ध नभए पनि नेपाली नागरिकका नाताले कांग्रेसले नियमित महाधिवेशन टारेकैले विशेष महाधिवेशनको माहोल बनेको टिप्पणी गरेका छन् ।

यो कस्तो लोकतन्त्र हो रु विधिसम्मत् रुपमा विशेष महाधिवेशनको माग भएपछि विशेष महाधिवेशन गरिनु आवश्यक र अनिवार्य नै भएको उनको भनाइ छ । ‘संस्थापन समूहको स्वार्थ, अहम् र फरक विचारलाई दवाउने र दमन गर्ने अलोकतान्त्रिक हठको कारणबाट विशेष महाधिवेशनलाई छल्न र विथोल्न खोजियो । हामी आमजनताले यसलाई लोकतन्त्र भनेर कसरी बुझ्ने ? यो भाँडतन्त्र भएन र ? यस्तै शैली र पृष्टभूमिमा झोले र चम्चे भाष्यको निर्माण भएको होईन र ? यी र यस्तै अरु केही प्रश्नहरुबीच म मेरो देशको राजनीतिक भविष्य नियाल्दै छु,’ खतिवडाले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्वन्यायाधीश खतिवडाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई कांग्रेस नेतृत्वले फिर्ता लिन निर्देशन दिएकोमा कडा आपत्ति जनाएका छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेछ ।

यो खवर सुनेर अचम्म लाग्यो । विधिसम्मत रुपमा हुनुपर्ने महाधिवेशन हुन नदिने गरी सुरुदेखि भएका कार्य लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूलको कदम हो । अहिले आएर हस्ताक्षर फिर्ता लिन लगाउने भनी गरिएको निर्णय महाधिवेशन प्रतिनिधि र आमकार्यकर्ताहरुलाई दिईएको अनुचित दवाव र धम्की पनि हो,’ उनले भनेका छन् ।