एनआरएनएका दुवै अध्यक्षले भेटे मन्त्री गुप्ता, अनाहक विवादमा परेकोमा दुःखी


काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसी र महेश श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई भेटेर आफ्नो संस्थाबाट भएको कमजोरीप्रति दुःख प्रकट गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेका केसी र श्रेष्ठले मन्त्री गुप्ताको अमेरिका भ्रमण अनाहकमा विवादमा परेकोमा कमजोरी स्वीकारेका हुन् । एनआरएन अमेरिकाको एउटा समूहले मन्त्री गुप्तालाई अमेरिका बोलाएको दाबी गरेको छ भने अर्को समूहले आफूहरूले नबोलाएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

जसकारण मन्त्री गुप्ता चौतर्फी आलोचनामा परेका छन् ।
उही विषयमा दुई फरक–फरक विज्ञप्ति सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादको केन्द्रमा छन्। सोहीबारे स्पष्टीकरण तथा गुनासो राख्न एनआरएनएका दुवै समूहका अध्यक्ष र आरके शर्माले मन्त्री गुप्तालाई भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन्।

अमेरिकास्थित दुई एनआरएन समूहबीचको आन्तरिक राजनीतिक विवादका कारण मन्त्री गुप्ता विवादमा परेको भन्दै यसलाई सच्याउने प्रतिबद्धता केसी र श्रेष्ठले गरेका छन् । एनआरएनए दुवै समूहले चाँडै एकता महाधिवेशन गर्दैछ ।