काठमाडौं । बहुमत प्रतिनिधि एकातिर उभिँदा पनि कांग्रेस सभापति आफ्नो हठमा कायमै रहेका छन् । उनी विशेष महाधिवेशन पक्षदे आयोजना गरेको बन्दसत्रमा सहभागी नहुने भएका छन् ।
सभापति देउवा सोमबार बिहान भृकुटीमण्डपस्थित कार्यक्रमस्थलमा जाने भनी सामाजिक सञ्जालमा फैलाइएको सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।
स्वकीय सचिव भानु देउवाले जारी गरेको स्पष्टीकरणमा भनिएको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले सभापति देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’
विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ, जसअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका छ। आइतबारको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्दसत्रमा सहभागी भई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका थिए। तर, संस्थापन पक्षले भने यो भेलालाई आधिकारिक मानेको छैन।
देउवा पक्षका अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएका छन् । तर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, शेखर कोइरालालगायत भने अनुपस्थित रहे ।











प्रतिक्रिया