काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ । पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् । विशेष महाधिवेशनको कार्यसूचीमा परेको नयाँ पार्टी सभापति निर्वाचित गर्ने विषय सहभागीबाट पारित भएको छ।
कांग्रेसको १४औँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै त्यसलाई विघटन गर्ने कार्यविधि पारित गरिएको हो। कार्यविधिमा उल्लेख भएको यो विषय विशेष महाधिवेशन प्रतिनिधिले पारित गरेपछि कार्यान्वयनमा जानेछ।
आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ। महामन्त्री गगन थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन्। केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए। कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै अहिले उनको विपक्षमा उभिएका हुन्।











प्रतिक्रिया