चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक,प्रेम, धोका र बदलाको साइकोलोजिकल थ्रिल


काठमाडौं – नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा प्रेम, सामिप्यता, छलकपट, धोका र बदलाको कथा प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्सको भाव देखाइए पनि क्रमशः धोका र बदलातर्फ कथा मोडिँदै जाने संकेत ट्रेलरले दिएको छ। प्रेम नपाउँदाको मानसिक तनाव र त्यसबाट सिर्जित घटनाक्रमलाई ट्रेलरले प्रभावकारी रूपमा उजागर गरेको छ।

चलचित्रको सम्पूर्ण कथा भने ट्रेलरमार्फत खुलाइएको छैन। सस्पेन्स कायम राख्न ट्रेलर सफल देखिन्छ। भिजुअल ट्रीटमेन्ट र कलर टोनले चलचित्रको साइकोलोजिकल थ्रिलर जनरालाई बलियो रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

ट्रेलरमा चलचित्रका अधिकांश प्रमुख कलाकारलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। साथै, बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय रहेको छ।

माघ १६ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन्। ‘द ब्ल्यू लाइट’ उनको डेब्यु निर्देशन हो।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन्।