काठमाडौं । फागुन २१ को निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । सबै दलले उम्मेदवारको टुंगो लगाइसकेका छन् । तर कांग्रेसमा सभापति गगन थापासहित शीर्ष नेताको उमेदवारी अझै टुंगो लागेको छैन ।
सोमबार रातभर भएको छलफलपछि पनि उमेदवारी टुंगो नलागेको एक नेताले जानकारी दिए । केही क्षेत्र अझै पनि टुंगो लाग्न बाँकी छ ।
कांग्रेस महामन्त्री प्रदिप पौडेलले रातभर छलफलमा रहेको जानकारी दिँदै टुंगिने चरणमा रहेको बताए । तर सभापति गगन थापा, महामन्त्री पौडेललगायतका पदाधिकारी, पूर्वपदाधिकारी केहीको टिकट र निर्वाचन क्षेत्रसमेत टुंगो लाग्न सकेको छैन ।
नेता शेखर कोइरालाको पनि टिकट टुंगो लागेको छैन । उनी चुनाव लड्ने कि नलड्ने अझै निश्चित नभएको सचिवालयले जनाएको छ । स्वकीय सचिव दिनेश थपलियाले अहिलेसम्म केही छलफल नभएको बताउँदै उमेदवारको सूची हेरेपछि मात्रै निर्णय गर्ने जानकारी दिए । कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का चुनाव नउठ्ने भएका छन् । यस्तै, उपसभापति विश्वप्रकाश शर्मा पनि उम्मेदवार नलड्ने भएका छन् । यसपटक कांग्रेसका धेरै हेबिवेट छुटेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ । देउवालाई यसपटक विश्राम लिएर नयाँलाई मौका दिन भनिएको छ । अब डडेल्धुराबाट नैनसिंह महरले टिकट पाएका छन् ।












प्रतिक्रिया