अदालतमा धेरै मुद्दा भएपछि रवि मानसिक रूपमा विक्षिप्त


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अदालती प्रक्रियालाई सम्मान र स्वीकार गर्नुपर्ने बताएका छन । आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । बुधबार अपराह्न काठमाडौं फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ।

तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’ लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन। अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन,’ उनले भने । आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको पनि उनले बताए।

रविले चुनावको नतिजा जे आए पनि स्वीकार्ने हिसाबले जानुपर्ने बताउँदै भने, ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्।’ रवि चितवन २ बाट पुनः उम्मेदवार बनेका छन् । तर मंगलबार उनले आफैं उपस्थित भएर मनोनयन दर्ता गराउन सकेनन् । पर्सा जिल्ला अदालतमा सानोपाइला सहकारीको मुद्दामा सुनुवाइ भएकाले उनी उपस्थित भएका थिए । अदालतले उनलाई एक करोड धरौटीमा छाडेको छ । उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए ।