पार्टीका उम्मेदवारलाई भोट माग्न इलाम पुगे बालेन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन इलाम पुगेका छन् । चुनाव प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न उनी इलाम पुगेका हुन् । बालेन बिहीबार ताप्लेजुङ जाँदैछन् । बाटोमा उनले स्थानीयसँग पार्टीका लागि मत मागेका हुन् ।

पाथीभरा देवीको मन्दिरमा पूजाआजा गरेर उनले बिहीबारदेखि चुनावी अभियान तीव्र पार्ने भएका छन् । मंगलबार झापा ५ मा उम्मेदवारी दर्ता गरेका बालेनले बुधबार दिनभर आफ्नो सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग छलफल गरेका थिए । उनका लागि निर्वाचन क्षेत्रमा तीनवटा सम्पर्क कार्यालय खोलिएको छ ।

त्यहीँ उनले भेटघाट गर्दै आएका छन् । बालेनले चुनौती दिएपछि एमाले अध्यक्ष केपी ओलीले पनि निर्वाचन क्षेत्र छाडेका छैनन् । उनी शुक्रबारसम्म झापामै रहने भएका छन् । ओली र बालेनका कारण झापा ५ अहिले इलेक्सन इपी सेन्टर बनेको छ ।