पत्रकारिता छाडेर चुनावी मैदानमा उत्रिएका ऋषि धमला अनेक हर्कतले चर्चामा


काठमाडौं । पत्रकारिता गर्दागर्दै दलको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका ऋषि धमलाका अनेक हर्कतका भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल छन् । रौतहट ४ मा आम जनता पार्टीबाट उम्मेदवार बनेका धमला अहिले मतदातासँग मत माग्न घरघर र खेतबारीमा पुगेका छन् । जहाँ पुग्छन् त्यहाँ उनका गतिविधि देखेर सबै हाँस्छन् मात्र ।

धमला प्राइम टेलिभिजनका मालिक हुन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अतिथिहरुलाई असान्दर्भिक, तर रोचक प्रश्न गर्दै असिनपसिन बनाउने उनी यतिबेला भने आफै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर, उनको भेटघाटलाई समाजिक सञ्जालमा भने ट्रोल बनाइएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेट्न घरघरमा पुग्नु सामान्य नै हो । तर धमलाले भने स्थानीय मतदातासँग नजिक हुन अण्टसण्ट हर्कत देखाएपछि ट्रोलको सिकार भएका हुन् ।

स्थानीय भेट्न हिँडेका बेला उनले कहिले स्थानीयको साइकल थुतेर चलाउँछन्, त कहिले सेलरोटी हाल्न पुग्छन् । घरी फर्निचरमा पुगेर आरा लगाउँछन् त कहिले बाटोमा हिँडेका मानिसलाई अंगालो हाल्न पुग्छन् । धमलाका यस्ता भिडियो क्लिप्सलाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

ऋषिले श्रीमती एलिजा गौतमलाई आम जनता पार्टीको समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा राख्न सफल भएका छन् । यदि आजपाबाट प्रत्यक्षतर्फ महिला निर्वाचित नभएमा एलिजा सांसद बन्ने बाटो खुलेको छ । त्यही भएर ऋषिले अनेक फण्डा गरेको सबैले बुझेका छन् ।