मनाङमा कांग्रेस उम्मेदवार जित नजिक, एमाले र राप्रपाले मैदान छाडे


मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मनाङमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् ।

उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ । सांसदमा चुनाव जिते पनि अदालतमा मुद्दा भएकाले टेकबहादुर संसद् प्रवेश गर्न पाउने छैनन् । यसअघिको निर्वाचनमा पनि गुरुङ नै निर्वाचित भएका थिए ।

मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । कांग्रेसले प्रदेश सभा सदस्य भने एमालेलाई दिने भएको छ ।