काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ मा उम्मेदवार बनेका डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
आफूलाई सघाउन भन्दै उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न पुगेका थिए । बाबुरामले नेकपाका लेखनाथ न्यौपानेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले समर्थन जनाउन नसकिने भन्दै अस्वीकार गरे ।
त्यसपछि रास्वपा नेताहरुसँगको छलफलमा बसेका बाबुराम आफ्नो उम्मेदवारी फिर्ता लिन तयार रहेको स्रोतले बतायो । एक्लाएक्लै जाँदा जित्न नसकिने निष्कर्ष निकाल्दै बाबुरामले उम्मेदवारी फिर्ता लिन लागेको बताइन्छ । २०७४ को निर्वाचनमा बाबुरामले गोरखा २ मा कांग्रेसको समर्थनमा चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा भने उनले प्रचण्डलाई समर्थन गरेका थिए ।
रास्वपा उपसभापतिसमेत रहेका स्वर्णिम वाग्लेले यसको संकेत गरेका छन् । गोरखा २ मा रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई समर्थन गर्दै बाबुरामले उम्मेदवारी फिर्ता लिएको बताईएको छ । उम्मेदवारी फिर्ता लिएर आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गरे भविष्यमा राष्ट्रपति बनाउन सकिने आश्वासन रास्वपाले दिएको छ ।
‘पूर्वप्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक, प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापन बाबुराम भट्टराईमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ। त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा २ बाट उम्मेदवार रहनुभएका भट्टराईलाई उम्मेदवारी फिर्ता लिए दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं,’ वाग्लेले भनेका छन् ।
गोरखा २ मा बाबुराम, कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका चक्रे मिलन, रास्वपाका कविन्द्र बुर्लाकोटी मैदानमा छन् । बाबुरामले उम्मेदवारी फिर्ता लिएमा कांग्रेस, रास्वपा, एमाले र नेकपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।












प्रतिक्रिया